Rule 106
शिक्षकले पाउने विदा
(१) शिक्षकले देहाय बमोजिमका विदाहरु पाउनेछः–
(क) भैपरी आउने बिदा वर्षभरिमा छ दिन,
(ख) पर्व बिदा वर्षभरिमा छ दिन,
(ग) बिरामी बिदा वर्षभरिमा बाह्र दिन,
(घ) सुत्केरी बिदा सुत्केरीको अघि वा पछि गरी साठी दिन,
(घ१) प्रसुति स्याहार बिदा पन्ध्र दिन
(ङ) किरिया बिदा पन्ध्र दिन,
(च) असाधारण बिदा एक पटकमा एक वर्षमा नबढाई नोकरीको तमाम अवधिमा बढीमा तीन वर्ष,
(छ) अध्ययन बिदा नोकरीको तमाम अवधिमा एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्ष ।
(ज) बेतलवी बिदा बढीमा पा“च वर्ष ।
(२) भैपरी आउने बिदा र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ । यस्तो बिदा सञ्चित हुने छैन ।
(३) शिक्षकले बिरामी बिदा सञ्चित गर्न सक्नेछ । शिक्षकले प्रत्येक वर्ष त्यस्तो बिदा निरीक्षकबाट प्रमाणित गराई राख्नु पर्नेछ । कुनै व्यहोराले शिक्षक आफ्नो सेवाबाट अवकाश भएमा निजको सञ्चित बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदमा खाइपाई आएको तलब स्केलको दरले हुन आउने रकम एकमुष्ट पाउनेछ ।
(४) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न बिरामी विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी शिक्षकले पछि पाउने विरामी बिदाबाट कट्टा हुने गरी बाह्र दिनसम्म थप बिरामी बिदा पेश्कीको रुपमा त्यस्तो बिरामी भएको बखत लिन सक्नेछ । यसरी पेश्की बिदा लिएको शिक्षकको मृत्यु हुन गएमा त्यस्तो पेश्की लिएको बिदा स्वतः मिनाहा हुनेछ ।
(५) सञ्चित बिरामी बिदाको रकम लिन नपाउ“दै शिक्षकको मृत्यु भएमा त्यस्तो सञ्चित विरामी विदाको रकम निजले इच्छाएको वा नजिकको हकवालाले एकमुष्ट पाउनेछ ।
(६) ……………..
(६क) कुनै पुरुष शिक्षकको पत्नी सुत्केरी हुने भएमा त्यस्तो शिक्षकले सुत्केरीको अघि वा पछि गरी सुत्केरी स्याहार बिदा पाउनेछ । सुत्केरी स्याहार बिदामा बसेको शिक्षकले पूरा तलब पाउनेछ र यस्तो विदा सेवा अवधि भरमा दुई पटक मात्र दिइनेछ ।
(७) शिक्षकले आफै किरिया बस्नु परेमा किरिया बिदा पाउनेछ । महिला शिक्षकको पतिले किरिया बस्नु परेमा त्यस्तो महिला शिक्षकले पनि किरिया बिदा पाउनेछ ।
(८) बिरामी परेको अवस्थामा बाहेक घटीमा पाँच वर्ष स्थायी सेवा अवधि नपुगेको शिक्षकले असाधारण विदा पाउन सक्ने छैन ।
(९) स्थायी सेवा पाँच वर्ष पुगेको शिक्षकलाई अध्यापन सम्बन्धी विषयमा उच्च अध्ययनका लागि अध्ययन बिदा दिन सकिनेछ ।
(९क) कुनै शिक्षककोे पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा नियोगमा खटिई गएको प्रमाण सहित त्यस्तो शिक्षकले वेतलवी विदा माग गरेमा एकैपटक वा पटक पटक गरी तमाम नोकरी अवधिभर पाँच वर्षसम्म बेतलबी बिदा पाउनेछ ।
(९ख) बेतलवी विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।
(१०) भैपरि आउने बिदा, पर्व बिदा, बिरामी बिदा, किरिया बिदा, प्रसूति बिदा र अध्ययन बिदामा बस्ने शिक्षकले पूरा तलब पाउनेछ ।
(११) असाधारण बिदामा बसेको शिक्षकले तलब पाउने छैन ।